स्वास्थ्यमन्त्री पौडेललको जितले मेरो करियर बर्बाद भयो: डा. संगीता

काठमाडौँ । फागुन २२, स्वास्थ्य सचिव बढुवामा नपरेपछि डा. संगीता कौशल मिश्रले आफूभन्दा जुनियरमा रहेर काम नगर्ने बताएकी छिन् ।
बुधबार मन्त्रिपरिषद्को बैठकले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटालाई सचिवमा नियुक्ति गरेको छ ।
लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले सचिवका लागि स्वास्थ्य मन्त्रालयमा १२औं तहमा रहेका पहिलो नम्बरमा डा. संगिता मिश्र र विकास देवकोटा र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो ।
अहिले सचिवका लागि प्रतिस्पर्धामा उत्रिएका डा. विकास देवकोटा र टंक बाराकोटी भन्दा ११ र १२ औं तहमा बढुवा हुँदा सिनियर भए पनि सरकारले आफूलाई उचित जिम्मेवारी नदिएको उनको आरोप छ ।
‘मैले राज्यलाई आपत पर्दा राम्रो काम गरेकै हो । राज्यको पैसा जोगाउने काम गरेकै छु,’ डा. मिश्रले प्रश्न गरिन्, ‘ स्वास्थ्य मन्त्री पौडेलले मलाई यो के-को पुरस्कार दिनुभयो ?
‘स्वास्थ्य सेवा विभागको महानिर्देशकबाट हटाउनुभयो, काम दिनुभएन, कुनै मिटिङमा बोलाउनु भएन, कुनै समितिमा राख्नुभएन्,’ उनले स्वास्थ्यमन्त्री पौडेललाई आरोप लगाउँदै भनिन्, ‘ उहाँ मधेशी विरोधी नै हुनुहुन्छ ।’
‘म विभिन्न पार्टीका १० जना मन्त्रीसँग काम गर्दा कुनै समस्या भएन । मन्त्री पौडेललाई मसँग समस्या हुने, उहाँले मसँग के अपेक्षा थियो, त्यो पूरा गर्न नसकेर नै यो पुरुस्कार दिनुभएको होला,’ डा. मिश्रले भनिन् ।
डा. मिश्रले जुनियर कर्मचारीको अन्डरमा रहेर काम नगर्न बताइन् । ‘स्वास्थ्यमन्त्री पौडेललको जितले मेरो करियर बर्बाद भयो,’ उनले थप आरोप लगाउँदै भनिन्, ‘उहाँको जिद्दीले एउटा मधेशी महिलाको करियर सकियो ।’
आफूले राजीनामा नदिने बताउँदै उनले स्वास्थ्यमन्त्रीको नैतिकता छ भने राजीनामा दिनुपर्ने बताइन् ।