अछामको आगलागी पीडितलाई प्रदेश सरकारले राहत बाँड्ने

सहयात्रा टिभी

काठमाडौं । चैत २७, अछामको जयगढ बजारमा मंगलबार बेलुकी भएको आगलागी पीडित परिवार र व्यवसायीलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्कालका लागि ५० लाख रुपैयाँ राहत बाँड्ने निर्णय गरेको छ ।

 

बुधबार बिहान मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद् बैठकले आगलागी पीडितलाई वितरण गर्न तत्कालका लागि बान्नीगढी जयगढ गाउँपालिकालाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता आमोद दाहालले जानकारी दिए ।

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा आगो बजारमा फैलिएको थियो । आगलागीबाट २७ घर जलेका थिए । जलेका २७ घरहरुमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र मंगलसेन नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट ७ करोडभन्दा बढी क्षति भएको प्रदेश सरकारको प्रारम्भिक रिपोर्ट छ ।

मानवीय सहायताका लागि तत्काल ५० लाख उपलब्ध गराउने र क्षतिको पूर्णविवरण प्राप्त भइसकेपछि थप रकम उपलब्ध गराउने प्रवक्ता दाहालले बताए । उनका अनुसार राहत वितरणका लागि सम्बन्धित पालिकालाई स्पष्ट मापदण्ड बनाउन भनिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आगलागी प्रभावित क्षेत्रमा राहत वितरण तथा पुनर्निर्माणमा सहयोग गर्न संघीय सरकारदेखि स्थानीय पालिकासम्मलाई अपिलसमेत गरेको छ ।

प्रकाशित : 9 April, 2025

प्रतिक्रिया दिनुहोस्