नेपालमा पहिलो पटक लिंग परिवर्तनको शल्यक्रिया सफल

सहयात्रा टिभी

काठमाडौं । जेठ २६, नेपालको चिकित्सा इतिहासमा एक ऐतिहासिक अध्याय थपिएको छ। त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका चिकित्सकहरूले पहिलो पटक सफलतापूर्वक लिंग परिवर्तनको जटिल शल्यक्रिया सम्पन्न गरेका छन्। जनकपुरकी २५ वर्षीया एक ट्रान्सजेन्डर व्यक्तिमा पुरुषको तन्तु प्रयोग गरी महिलाको जनेन्द्रिय निर्माण गरिएको हो, जसले अब नेपालमै आफ्नो लैंगिक पहिचानअनुसारको जीवन जिउन चाहनेहरूका लागि नयाँ ढोका खोलेको छ।

प्लास्टिक सर्जरी विभागका प्रमुख डा. जयमान श्रेष्ठको नेतृत्वमा भएको यो शल्यक्रिया केवल एक प्राविधिक सफलता मात्र होइन, यो लैंगिक पहिचानका लागि संघर्ष गरिरहेका हजारौंका लागि आशाको किरण पनि हो। “आफ्नो पहिचानप्रति कसैलाई नैराश्य नहोस् र समाजको डरले खुम्चिएर बस्न नपरोस् भन्ने हाम्रो लक्ष्य हो,” डा. श्रेष्ठ भन्छन्, “यो सफलताले ट्रान्सजेन्डर समुदायलाई आफ्नो पहिचानमा गर्व गर्न सघाउनेछ।”

यो शल्यक्रिया विदेशमा अत्यन्तै महँगो हुने भए पनि अब नेपालमा करिब डेढ लाख रुपैयाँमै सम्भव भएको छ। अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार यो सफलताले नेपालको स्वास्थ्य सेवाको क्षमतालाई विश्वसामु चिनाएको छ।

ब्लु डाइमन्ड सोसाइटीका पिटरले यसलाई आफ्नो समुदायका लागि ‘कम्फर्ट जोन’ निर्माण भएको रूपमा व्याख्या गरे। “अब म आफूलाई महिला भनेर गर्व गर्न सक्छु। आफ्नो पहिचानका लागि शल्यक्रिया गर्नु ठूलो कुरा हो,” उनले भनिन्।

यो ऐतिहासिक शल्यक्रिया जेठ १२ देखि १५ सम्म आयोजित एक विशेष कार्यशालाको हिस्सा थियो, जसमा विदेशी विशेषज्ञ डा. एलिरेजा हामिडिएन जाह्रोमीको टोलीले पनि सहकार्य गरेको थियो।

प्रकाशित : 9 June, 2025

प्रतिक्रिया दिनुहोस्