पहिरो खसेर पूर्व पश्चिम राजमार्ग अन्तर्गतका सडक बन्द

काठमाडौं । असार ६, बाढी र पहिरोखसेर पूर्व पश्चिम राजमार्ग अन्तर्गतका नवलपरासी, सिन्धुपाल्चोक,दाङ, सल्यानमा सडक बन्द भएको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा गएराति बाढीले डाइभर्सन बगाएपछि सडक दुईतर्फी बन्द भएको छ । ६ महिनाअघि दुम्कीबासको विनयी खोलामा रहेको फलामे पुल भाँच्चिएपछि त्यहा डाइभर्सन बनाएर गाडी सञ्चालन हुँदै आएको छ ।
विनयी खोलामा बाढी आउनासाथ डाइभर्सन बगाउने र फेरि बनाउने क्रम चलिरहेको छ । दाउन्ने र दुम्कीबास क्षेत्रमा पानी पर्नेबित्तिकै सडक हिलो र चिप्लो भएर जाम र दुर्घटनाको जोखिम भएकोले वैकल्पिक रुटको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले आग्रह गरेको छ ।
यस्तै अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशीमा पहिरोका कारण पाँच दिनअघि बन्द भएको तीनवटा सडकखण्डमध्ये एक ठाउँमा अझै खुलेको छैन । लार्चामा अझै सडक खुल्न नसकेको प्रहरीले जनाएको छ ।
दाङ–सल्यान सडकखण्ड अन्तर्गत तुलसीपुरको राम्री भन्ने ठाउँमा पहिरो खसेर सडक बन्द भएको छ । राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट चोरखोलामा पनि पहिरोले सडक अवरुद्ध छ । कालिगण्डकी करिडोर नवलपरासीको बुलिनटार र बागलुङ दव्ल्याङमा पनि पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।