चितवनमा २० जनामा डेङ्गुको सङ्क्रमण

सहयात्रा टिभी

काठमाडौं । साउन १६, साउन यता चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार सात सय ९८ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

कार्यालयकी जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार सङ्क्रमितमध्ये १४ जना चितवनका हुन भने ६ जना जिल्ला बाहिरका रहेका छन् ।

जिल्लाको भरतपुर महानगरपालिकाका– सातजना, खैरहनी नगरपालिकाका तीन जना, रत्ननगर नगरपालिकाका दुई जना, कालिका नगरपालिकाका दुई जनामा डेङ्गुको सङ्क्रमण देखिएको हो । पाँच जना पुरुष र नौ जना महिलामा डेङ्गुको सङ्क्रमण देखिएको उनले जानकारी दिइन् ।

वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी साउन, भदौ, असोजमा डेङ्गुको सङ्क्रमण देखिने गर्दछ ।

यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने जनस्वासथ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए ।

यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फूल पार्ने गर्दछ ।

यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांशपेशी दुख्ने, शरीरमा विविरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्ष्यण देखा पर्छ ।

 

प्रकाशित : 1 August, 2025

प्रतिक्रिया दिनुहोस्