भोलिबाट चक्रे मिलनविरुद्ध जिल्ला अदालतमा बहस थालिने

काठमाडौं । साउन २९, गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलनविरुद्ध जिल्ला अदालत भक्तपुरमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको छ ।
चक्रेविरुद्ध आज बिहीबार मुद्दा दर्ता भएको हो । मुद्दा दर्ता भए पनि आज बयान र थुनछेक नभ्याइएका कारण चक्रे हिरासतमै रहने भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले मुद्दा दर्ता भए पनि थुनछेक बहस आज नभ्याउने भएकाले चक्रेलाई हिरासतमै ल्याइएको बताए ।
एक वर्षअघिको एक ज्यान मार्ने उद्योगको कसुरको मुद्दामा चक्रेमाथि मुद्दा दर्ता भएको हो । चक्रेसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै प्रहरी वृत्त थिमिमा जाहेरी परेको थियो ।
आफ्नो भतिजो मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए ।
सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय अजित खवाससहितका व्यक्तिले आक्रमण गरको भन्दै जाहेरी परेको थियो । जहाँ चक्रेको समेत नाम उल्लेख थियो । जाहेरी पछि प्रहरीले खवासलाई पक्राउ गरेर अनुसन्धान गरी मुद्दा चलाएको थियो । तर चक्रेको हकमा भने वतन नखुलेको भन्दै प्रतिवादी बनाइएको थिएन ।
त्यतिबेला रायमाझीको दुवै कोखमा खुकुरी प्रहार गरी घाइते बनाइएको बताइएको थियो । सोही विषयमा अहिले चक्रेमाथि मुद्दा दर्ता भएको हो ।