भारतीय विदेश सचिव मिश्री काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिने

सहयात्रा टिभी

काठमाडौं । भदौ १, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आइपुगेका छन् । उनी भारतीय वायुसेनाको विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिश्रीले काठमाडौंमा रहँदा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । काठमाडौं आइपुगेलगत्तै उनी सोल्टी होटेलमा बसेका छन् र त्यहाँबाट महत्वपूर्ण भेटघाटका लागि निस्कने कार्यक्रम छ । उनले सुरुमा आफ्ना समकक्षी राईसँग भेटवार्ता गर्नेछन् ।

त्यसपछि मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति रामचन्द्र पौडेल, परराष्ट्रमन्त्री आरजु राणा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका उच्चपदस्थ व्यक्तित्वहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीसँगको भेटका क्रममा मिश्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् । प्रधानमन्त्री ओली यही भदौ ३१ गते दुईदिने भारत भ्रमणमा जाने तयारी छ । प्रधानमन्त्री बनेको १४ महिनापछि ओलीको यो भारत भ्रमण हुन लागेको हो । मिश्रीको यस भ्रमणका क्रममा हुने भेटवार्तामा प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डाहरूमाथि द्विपक्षीय तयारी तथा छलफल हुनेछ । यसपटक प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच बिहार राज्यको बोधगयामा औपचारिक भेटवार्ता गराउने तयारी भइरहेको स्रोतले बताएको छ । बोधगया बुद्धले ज्ञान प्राप्त गरेको पवित्र स्थल मानिन्छ ।

भारतीय विदेश मन्त्रालयले मिश्रीको भ्रमणलाई दुई देशबीच हुने नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराको निरन्तरता भएको बताएको छ । ‘छिमेक पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्रालयले यो भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझै अघि बढाउने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।

उच्चस्तरीय भेटवार्ता र छलफलपछि विदेश सचिव मिश्री पशुपतिनाथको दर्शन गरेर भारत फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित : 17 August, 2025

प्रतिक्रिया दिनुहोस्