कुवेतमा विषाक्त मदिरा प्रकरणमा दुई नेपालीसहित ६७ जना पक्राउ

काठमाडौं । भदौ १, कुवेतमा विषाक्त मदिरा उत्पादन तथा बिक्री-वितरण गरेको आरोपमा कुवेत प्रहरीले दुई नेपालीसहित ६७ जनालाई पक्राउ गरेको छ । गत साता सोही मदिरा सेवनबाट १६ नेपालीसहित २३ जनाको मृत्यु भएपछि प्रहरीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो ।
कुवेतको गृह मन्त्रालयका अनुसार पक्राउ पर्ने नेपालीहरूमा भुवनलाल तामाङ र नारायणप्रसाद बस्याल रहेका छन् । पक्राउ परेका अन्य व्यक्तिहरू भारतीय र बंगलादेशी नागरिक भएको मन्त्रालयले जनाएको छ ।
गत साता विषाक्त मदिरा सेवनका कारण कुवेतमा १६ नेपाली नागरिकसहित २३ जनाको ज्यान गएको थियो । उक्त मदिरा सेवनले गम्भीर बिरामी परेका १६० भन्दा बढी व्यक्ति स्थानीय अस्पतालमा उपचाररत छन्, जसमध्ये ३६ जना नेपाली रहेका छन् ।
इस्लामिक मुलुक कुवेतमा मदिरा उत्पादन, बिक्री तथा सेवनमाथि कडा प्रतिबन्ध छ ।