नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतीय नागरिक रुपन्देहीमा पक्राउ

सहयात्रा टिभी

काठमाडौं । भदौ ३, रुपन्देही प्रहरीले नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयका हजारौँ थान नक्कली शैक्षिक प्रमाणपत्र र त्यसका लागि प्रयोग हुने सामग्रीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार भारतको कानपुर नौवस्ती निवासी २५ वर्षीय अभिषेक यादवलाई सीमावर्ती क्षेत्र बेलहियाबाट नियन्त्रणमा लिइएको हो। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, बेलहियाको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका-१ स्थित मुक्तिनाथ होटल परिसरबाट यादवलाई पक्राउ गरेको रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

प्रहरीका अनुसार यादवको साथबाट बरामद गरिएका सामग्रीमा त्रिभुवन विश्वविद्यालय, उच्च माध्यमिक शिक्षा परिषद्, राष्ट्रिय परीक्षा बोर्ड र सीटीईभीटीका हजारौँ थान होलोग्राम, ट्रान्सक्रिप्ट र प्रमाणपत्रहरू छन्। त्यसैगरी, भारतका एमिटी, जवाहरलाल नेहरु टेक्निकल युनिभर्सिटी, छत्रपति साहूजी महाराज युनिभर्सिटी, कुरुक्षेत्र विश्वविद्यालय लगायतका नक्कली मार्कसिट, प्रोभिजनल सर्टिफिकेट र अन्य प्रमाणपत्रहरू पनि फेला परेका छन्।

प्रारम्भिक अनुसन्धानमा यादव नक्कली प्रमाणपत्र बनाउने गिरोहको कर्मचारी भएको र ती प्रमाणपत्रहरू अध्ययनका लागि विदेश जाने नेपालीहरूलाई बिक्री गर्ने उद्देश्यले ल्याइएको खुलेको छ।

यादवको साथबाट विभिन्न विश्वविद्यालयका दर्जनौँ नक्कली स्ट्याम्प (छाप), ल्यापटप, पेनड्राइभ, मोबाइल, एटिएम कार्ड तथा भारतीय र नेपाली नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ। उनी होटलमा कोठा बुक गर्ने क्रममा पक्राउ परेका थिए।

प्रकाशित : 19 August, 2025

प्रतिक्रिया दिनुहोस्