संविधानको भावनाविपरीत एमसीसी रहेको झलनाथ खनालको टिप्पणी

काठमाडौं । भदौ ८ , पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावनाविपरीत रहेको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता खनालले एमसीसी नेपालको हित अनुकूल नभएको टिप्पणी गरेका हुन् ।
नेपाल सरकार र एमसीसी बीचको सम्झौता दक्षिण एसियामा अमेरिकी सुरक्षा रणनीतिलाई अघि बढाउने माध्यम भएको उनको आशंका छ ।
एमसीसी सम्झौता नेपालको संसदबाट असामान्य ढंगबाट अनुमोदन भएको भन्दै खनालले यस सम्झौताले चीन र भारतसँग नेपालको भू–राजनीतिक सन्तुलन माथि गम्भीर असर पुर्याएको टिप्पणी गरे ।
संसदमा छलफल नै नगरी एमसीसी पास गरिएको घटना आश्चर्यजनक भएको भन्दै उनले त्यसले लोकतान्त्रिक मूल्यमान्यताको उल्लङ्घन भएको समेत बताए ।
पूर्वप्रधानमन्त्री खनालले राजनीतिक दलहरूले यसमा दोहोरो भूमिका खेलेको आरोप लगाए । त्यसबाट विद्यार्थी, युवा र बुद्धिजीवीहरूले अकारण दु:ख भोग्नुपरेको समेत बताए ।
एमसीसी सम्झौताले नेपाललाई भारतसँगमात्र विद्युत व्यापार गर्न बाध्य पार्ने उल्लेख गर्दै खनालले यसले भारतीय एकाधिकार बलियो बनाउने खतरा रहेको टिप्पणी गरे ।
एमसीसी सम्झौता कार्यान्वयनबारे अझै अस्पष्टता रहेको समेत बताए ।
नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई चुनौती दिने कुनै पनि प्रावधान स्वीकार्य नहुने भन्दै पूर्वप्रधानमन्त्री खनालले एमसीसीबारे पुनर्विचार गर्नुपर्ने धारणा राखे ।