उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपतिबिच द्विपक्षीय बैठक सुरु

काठमाडौं । भदौ ८ , उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल भ्रमण आएकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनलगायत प्रतिनिधिमण्डलको द्विपक्षीय बैठक काठमाडौंमा सुरु भएको छ ।
शनिबार काठमाडौं आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेलगत्तै द्विपक्षीय बैठक सुरु भएको हो ।
नेपाल(भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा सुआन नेपाल भ्रमणमा आएकी हुन् ।
शनिबार नेपाल आएकै दिन उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन् । मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान गर्न प्रस्ताव राखेकी थिइन् ।
यसो हुनसके भियतनामबाट नेपाल भित्रिने पर्यटकहरुको संख्या बढाउन सकिने नेपालको विश्वास छ । द्विपक्षीय बैठकमा यस विषयमा पनि छलफल हुनेछ ।
उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सो भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने र पाटन दरबार स्क्वायर, स्वयंभूनाथ स्तूप लगायतका स्थान भ्रमण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उनी स्वदेश फर्किनेछिन् ।