द्विपक्षीय श्रम सम्झौतामा मेनपावरलाई समेत सहभागी गराउने तयारी

काठमाडौं । भदौ ११, सरकारले अन्य मुलुकसँग गर्ने द्विपक्षीय श्रम सम्झौतामा मेनपावर व्यवसायी र अन्य सरोकारवालालाई समेत सहभागी गराउने तयारी गरेको छ ।
हालै जारी गरिएको राष्ट्रिय श्रम आप्रवासन नीतिमा ‘श्रम आप्रवासनसम्बन्धी सेवा प्रदान गर्ने व्यवसायी, गैरसरकारी संस्था र सरोकारवालाको अर्थपूर्ण सहभागिताका आधारमा द्विपक्षीय श्रम सम्झौताको नमुना ढाँचा विकास गरी कार्यान्वयन गरिने’ उल्लेख छ ।
यसअघि नेपालले मलेसिया, कतार, जापान, दक्षिण कोरिया लगायतका मुलुकसँग गरेको श्रम सम्झौताका कामहरू सरकार आफैँले गरेको थियो । तर, नयाँ नीतिअनुसार सम्झौताको मस्यौदा तयार गर्ने क्रममा व्यवसायी तथा अन्य सरोकारवालाको समेत सुझाव लिइनेछ ।
यो नीतिलाई सरकारका अधिकारीहरू र श्रम तथा आप्रवासन विज्ञहरूबीच फरक/फरक धारणा देखिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसलाई ‘समग्र समाज’ को दृष्टिकोण राखेको र सबै सरोकारवालालाई यो काममा सहभागी गराउन खोजेको बताएको छ ।
विज्ञहरूले भने यसले वैदेशिक रोजगार क्षेत्रमा थप बेथिति निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । सरोकारवाला निकायको सहभागिता राम्रो विषय भएपनि त्यसमा उनीहरूको स्वार्थ पसेको खण्डमा समस्या आउन सक्ने बुझाई विज्ञहरूको छ ।