अवरुद्ध बिपी राजमार्गको रोशी खण्ड खुल्यो

काठमाडौं । भदौ १२, बीपी राजमार्ग अन्तरगत काभ्रेको रोशी क्षेत्रमा बुधबार रातिदेखि चार ठाउँमा अवरुद्ध सडक खुलाइएको छ ।
रातिदेखि परेको अविरल बर्षाको कारण रोशी गाउँपालिका-९ को पिल्थलीबेशी र बिरुवाडाँडा, रोशी ११ को कालढुंगामा रहेको खहरेखोलामा आएको लेदोको कारण तथा रोशी १२ माम्तीमा सडक माथिबाट आएको सुख्खा पहिरोले सडक अवरुद्ध गरेको थियो ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इश्वर कार्कीका अनुसार अहिले चारै स्थानको अवरोध बिहान ७ बजेदेखि हटेको छ । बाटो पूर्ण रुपमा सञ्चालनमा आएको कार्कीको भनाइ छ । वर्षा भइरहेकोले रोशी खोलाको सतह बढ्दै गएकोले सचेत भएर सवारी साधन चलाउन प्रहरीले अनुरोध गरेको छ ।