उत्कृष्ट ब्याटिङगरेपछि काठमान्डुले कर्णालीलाई हरायो
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १६, रासिद खान र करण केसीले उत्कृष्ट ब्याटिङ गरेपछि काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।

सोमबारको पहिलो खेलमा कर्णाली याक्सले दिएको १८१ रनको लक्ष्य काठमान्डु गोर्खाजले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
पहिलो खेलमा जनकपुरसँग पराजित भएको काठमान्डुले पहिलो जितपछि दुई खेलबाट २ अंक जोडेको छ । कर्णालीको भने लगातार दुई जितपछि यो पहिलो हार हो ।
काठमान्डुका लागि रासिद खानले अर्धशतक प्रहार गरे । उनले ३४ बल खेल्दै ३ चौका र २ छक्काको मदतमा सर्वाधिक ५० रन बनाए ।
यस्तै कप्तान करण केसीले विष्फोटक ब्याटिङ गर्दै २० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४४ रनको योगदान गरे ।
रासिद खानले आदिल आलम र कप्तान करण केसीसँग दुई अर्धशतकिय साझेदारी गर्दै काठमान्डुको जितको आधार तयार पारेका थिए ।
अष्ट्रेलियन चर्चित खेलाडी डेभिड वार्नरले नेपाल आएको भोलीपल्टै काठमान्डुका लागि ओपनिङ रग्दै एनपीएलमा डेब्यु गरेका थिए ।
१० बल खेल्दै ३ चौका मदतमा १६ रन बनाएका वार्नरलाई कर्णालीका कप्तान सोमपाल कामीले आउट गरे । अर्का ओपनर स्मित पटेल पनि ९ रनमै आउट हुँदा काठमान्डुले २८ रनमा २ विकेट गुमाएको थियो । तर तेस्रो विकेटका लागि रासिद खान र आदिल आमलले ५४ रनको साझेदारी गरे ।
सुस्त ब्याटिङ गरेका आदिलले २७ बल खेल्दै १ छक्का प्रहार गरी २० रन जोडे । आदिल आउट भएपछि आएका भिम शार्की ४ रन बनाएर आउट भए ।
एक छेउ सम्हालेका रासदि खानले कप्तान करण केसीसँग अर्को अर्धशतकिय साझेदारी गरे । रासिद र करणले २६ बलमै ५५ रनको साझेदारी गरेका थिए ।
