उदयपुरमा स्क्रब टाइफसको सङ्क्रमण बढ्दै
काठमाडौँ । भदौ २२, उदयपुरमा हाल डेङ्गु, मौसमी र भाइरल ज्वरोका साथै आँखा पाक्ने सङ्क्रमण न्यून हुँदै गइरहेको बेला स्क्रब टाइफसको सङ्क्रमण बढ्दै गई रहेको छ ।
उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण देखा पर्न थालेको छ ।
जिल्लामा भदौको पहिलो साता एकजनामा सङ्क्रमण देखिएसँगै अहिले दैनिक बिरामीको सङ्ख्या वृद्धि हुन थालेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ ।
साउनको पहिलो सातादेखि डेङ्गु देखा परेको थियो भने साउनको दोस्रो सातादेखि जिल्लामा आँखा पाक्ने रोगको संक्रमण फैलिएको अस्पतालका प्रमुख झाले जानकारी दिए । स्क्रब टाइफस ब्याक्टेरिया माइड नामको जीवाणु वा एक प्रकारको जुम्राबाट सर्ने रोग रहेको जानकारी दिएका छन् ।
सुरुमा यस रोगको लक्षण अनियमित ज्वरो आउने, शरीर तथा छालामा राता डाम्रा देखा पर्नेलगायत रहेका उनले बताए ।
हाल यसको सङ्क्रमण जिल्लाको त्रियुगा र बेलका नगरपालिका क्षेत्रसहित चौदण्डीगढी नगरपालिकाका केही भागमा देखा पर्न थालेको जिल्ला अस्पताल उदयपुरका चिकित्सकले बताएका छन् ।