मणिपालमा चिकित्सक कुटपिट प्रकरणमा ८ दिनपछि उठ्यो सुकमायाको शव

सहयात्रा टिभी

काठमाडौं । असोज १६,    गत ८ गते चिकित्सकको लापरबाहीले सुकमायाको मृत्यु भएको भन्दै आफन्तका तर्फबाट डाक्टर अनिल शाहमाथि हातपात भएको थियो ।

डाक्टर कुटिएको विषयले देशैभरि आन्दोलन भएको थियो ।  गत ८ गते लमजुङबाट उपचारका लागि ल्याइएकी सुकमाया दुराको मृत्युपछि चिकित्सक कुटपिट प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

सहमति भइसकेको भनिएको मणिपाल प्रकरणमा प्रहरीले फेरि पक्राउ गरेको भन्दै आफन्तले सुकमायाको शवसमेत बुझेका थिएनन् । अस्पताल र आफन्तबीच सहमति भएको तर प्रहरीले तोडफोडमा उत्रिएकालाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको एसपी थापाले बताए ।

मृतकका आफन्तले पक्राउ परेका व्यक्तिको रिहाइ गर्न माग गर्दै शव नउठाएकोमा छिटोभन्दा छिटो सहजीकरण गरिदिने सर्तमा मंगलबार बिहान (आज) शव उठाइएको छ ।

आफन्तले ८ दिनपछि अस्पतालमा शव उठाएको एसपी थापाले जानकारी दिए । प्रहरीले स्वास्थ्य संस्था सम्बन्धी ऐनअनुसारै पक्राउ परेका व्यक्तिको कानुनी प्रक्रिया अगाडि बढाउने थापाको भनाइ थियो ।

सुकमायाको मृत्युपछि उत्पन्न तनावमा अस्पताल तोडफोड गरेको आरोपमा ‘छावा’ भनेर चिनिने सुशील कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

अस्पतालको लापरबाहीले सुकमायाको ज्यान गएको भन्दै आफन्तका तर्फबाट विरोधमा उत्रिएका कार्की सिसी क्यामरामा तोडफोडमा उत्रिएको देखिएपछि पक्राउ परेका हुन् ।

कास्की प्रहरी प्रमुख मोहनबहादुर थापाका अनुसार भीडबाट तोडफोड गर्ने र अराजकता निम्त्याउने अझै केही व्यक्ति खोजीमा छन् ।

८ गते नै डाक्टर कुटेको आरोपमा २७ वर्षीय विनय गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । चिकित्सकका तर्फबाट पनि डा. दिनेशलाई पक्राउ गरेर एक दिन हिरासतमा राखेर छोडेपछि आफन्तले झनै आन्दोलन चर्काएका थिए ।

 

प्रकाशित : 3 October, 2023

प्रतिक्रिया दिनुहोस्