स्त्री रोगमा हिस्टरोस्कोपीको प्रयोग

सहयात्रा टिभी
हिस्टरोस्कोपी एउटा प्रविधि हो । यो प्रविधिअनुसार दूरबिनको माध्यमबाट योनीद्वार र पाठेघरभित्रको अवस्था वा समस्या पत्ता लगाएर उपचार गर्न सकिन्छ । यो प्रविधि विभिन्न समस्याको निदानका लागि पनि प्रयोग हुने गर्छ । बाँझोपनमा हिस्टरोस्कोपीको प्रयोग पाठेघरभित्रको अवस्था (पाठेघरमा पर्दा वा जाली भएको आदि) बुझ्न प्रयोग गरिन्छ, जुन अन्य जाँच जस्तो भिडियो एक्सरेबाट पत्ता लगाउन सकिँदैन । तर, यो प्रविधिले त्यस्तो अवस्था पत्ता लगाउनुका साथै उपचारसमेत सँगै गर्न मिल्छ ।
हिस्टरोस्कोपीको माध्यमले पाठेघरभित्रको अवस्था र कुनै समस्याको पहिचान गरी उपचार गर्न सकिन्छ । पाठेघर र नली जोडिएको ठाउँ, जुन मेडिकल भाषामा ओष्टिया भनिन्छ । त्यसको अवस्था पनि हिस्टरोस्कोपीको माध्यमबाट पत्ता लगाउन सकिन्छ । साथै, हिस्टरोस्कोपी र ल्यापरोस्कोपीको माध्यमबाट नली खुला छ कि छैन भन्ने पत्ता लगाउन सकिन्छ । त्यसमा कुनै समस्या देखिएमा उपचार पनि गर्न सम्भव छ । अहिले हाम्रो समाजमा बाँझोपनको समस्या बढ्दै गएको छ । साथै, थुप्रै बिरामी टेष्टट्युब बेबीका लागि प्रयास गरिरहेका देखिन्छन् ।

अध्ययन–अनुसन्धानअनुसार महिलामा बाँझोपनको कारण पत्ता लगाउन विभिन्न जाँचहरूमा हिस्टरोस्कोपी महत्त्वपूर्ण मानिएको छ । यसले गर्दा कुनै ठूलो प्रविधिको माध्यमबाट प्रयास गर्नुअघि यो प्रविधिको प्रयोग प्रभावकारी हुने गरेको छ । योबाहेक हिस्टरोस्कोपीको प्रयोग धेरै रगत बगेको अवस्थामा बायप्सी (मासुको जाँच)मा पनि प्रयोग हुन्छ । पाठेघरभित्र कुनै मासु पलाएमा (इण्ड्रोमेट्रियल पोलिप) कपर टी, पाठेघरभित्र हराएको अवस्थामा र कुनै फोरेनबडी (अनावश्यक चीज) भएको बेलामा हिस्टरोस्कोपीको माध्यमबाट पत्ता लगाई झिक्न सकिन्छ ।

सेकेण्डरी एमिनोरिया भनेको जुन महिलामा नियमित रूपमा महीनावारी भइरहेको थियो र महीनावारी सुक्ने उमेर पुगेको छैन, त्यस्तो अवस्थामा ६ महीनाभन्दा बढी महीनावारी रोकिएको अवस्था हो । कुनै हर्मोनको उपचारले महीनावारी गराउन नसकेको अवस्थामा पनि हिस्टरोस्कोपी प्रविधिको माध्यमले पाठेघरभित्रको अवस्था पत्ता लगाउनुका साथै बायप्सी गर्न सकिन्छ । हिस्टरोस्कोपीको माध्यमबाट हामीले अल्का अस्पतालमा महिलाको विभिन्न समस्याको निदान तथा उपचार गर्दै आएका छौं ।

डा. रंगीना लाइकङ्गबम शाह
कन्सल्टेण्ट, स्त्री तथा
प्रसूति रोग विशेषज्ञ (ल्याप्रोस्कोपिक गाइनोकोलोजिष्ट)
अल्का अस्पताल, जावलाखेल

प्रकाशित : 24 December, 2017

प्रतिक्रिया दिनुहोस्