बङ्गलादेशको घटनाबाट नेपाललाई सजगतापूर्वक हेर्न जरुरी : सम्पादकीय

सहयात्रा टिभी

सम्पादकीय –  बङ्गलादेश अहिले अप्रत्याशित रूपले राजनीतिक सङ्कटमा फस्यो । त्यहाँ जनविद्रोह भएको छ ।

ऐतिहासिक पृष्ठभूमि एवम् १६ वर्षदेखि निरन्तर सत्तामा रहेकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेर पलायन हुने परिस्थिति सिर्जना भयो ।

प्रत्यक्ष सिमाना जोडिएको भारत र चीनपछिको तेश्रो निकट छिमेकी देश बङ्गलादेशमा नेपालको जस्तै मानसिकता भएका नागरिक छन् । त्यसै कारण बङ्गलादेशको घटनाबाट नेपालले सिक्नै पर्ने पाठहरु थुप्रै छन् ।

नेपालमा पर्ने तत्कालको प्रभाव भनेको मुख्य व्यापारको आयात निर्यात ठप्प हुनु हो । नेपालबाट बङ्गलादेशमा ४० मेघावाट बिजुली निर्यात गर्ने भनेर अन्तिम चरणमा पुर्‍याएका छौँ । त्यसको सम्झौता गरेर पठाउने काम आउँदै थियो ।

त्यसकारण त्यहाँको सङ्कटका कारणले नेपालमा पार्ने प्रभावबारे हामी सचेत हुनुपर्छ । बङ्गलादेशमा अराजक स्थिति फैलिरह्यो र नियन्त्रण हुन सकेन भने नेपालमा घुसपैठ हुनसक्छ । यसमा सबै सचेत हुनुपर्छ ।

अर्को भनेको त्यहाँ भएका अझै चार सय नेपाली विद्यार्थीको चिन्ता हो । अहिले त्यहाँ एकाएक जनविद्रोह बिस्फोट भएको छ ।

जुन आरक्षणको विषय समाधान भइसकेको थियो । यसको पृष्ठभूमिमा रहेको कुशासन, भ्रष्टाचार, जनआकांक्षाको उपेक्षा नहोस् भन्नेतर्फ ध्यान नदिनुको अहिलेको परिणाम हो ।

नागरिकको जल्दोबल्दो विषयमा जोडिएका मुद्दामा ढिलाई नहोस् भन्ने पाठ यो घटनाबाट नेपालका राजनीतिज्ञले सिक्नुपर्ने देखिन्छ । त्यसैले हाम्रो सरोकार बङ्गलादेशसँग छ । धेरै हिसाबले हामीले चासो चिन्ता लिनुपर्ने देखिन्छ ।

बङ्गलादेशबाट नेपालले पाठ सिक्नैपर्छ । विकास निर्माण र आर्थिक वृद्धिले मात्र नागरिक सन्तुष्ट नहुन सक्छन् । भ्रष्टाचार मौलाउने, मानिसले बोल्न लेख्न नपाउने जस्ता मूल्य, मान्यता कुल्चियो भने पार पाउने अवस्था नहुँदो रहेछ भन्ने पाठ सिक्नुपर्छ । राजनीतिक नेतृत्व सन्तुलित हुनुपर्छ ।

सरकारले प्रजातान्त्रिक मूल्य मान्यतालाई सन्तुलित राख्ने र केही मुद्दा उठ्यो भने शान्तिपूर्वक समाधान गराउनुपर्छ । बङ्गलादेशका नोबेल पुरस्कार पाएका महोम्मद युसूफ जस्तो व्यक्तिलाई थुनामा लैजाने खालका काम भयो ।

उहाँलाईसमेत त्यहाँ निस्सासिएर बस्नुपर्ने स्थितिमा राखिएको थियो । त्यस्तै पत्रकारले बोल्यो र लेख्यो भने राज्यबाटै डराउनुपर्ने अवस्था उत्पन्न भयो । राज्यले दमन गर्‍यो भने जनविद्रोह हुन सक्छ भन्ने पाठ नेपालले लिनुपर्छ ।

अर्को विषय भनेको एउटै व्यक्ति लामो समयसम्म सत्तामा रहनु उपयुक्त हुँदैन भन्ने बुझ्नुपर्छ । किनकी त्यसले तानाशाही प्रवृत्ति मौलाउने, दम्भ मौलाउने र सुशासनलाई ध्यान नदिने खालको प्रवृति देखा पर्छन् । जसले राष्ट्रलाई नै सङ्कटमा पार्छ भन्ने उदाहरण बङ्गलादेशको यो घटना देखाएको छ ।

अन्य देशमा धेरैजसो दुई पटक मात्र कार्यकारी प्रमुखमा हुन्छन् । त्यहाँ राष्ट्रिय स्थायित्व रहन्छ । जुन देशमा लामो समयसम्म एउटै व्यक्तिले सरकारमा रहेर शासन गर्छ यो कुराले कुनै पनि देशमा असन्तुष्टि बढाउँछ ।

त्यसैले नेपालमा पनि एउटा व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री वा कार्यकारी प्रमुख जान नपाउने व्यवस्था गराउनुपर्छ भन्ने बहस चलाउनुपर्ने आवश्यकता देखिन्छ ।

 

प्रकाशित : 7 August, 2024

प्रतिक्रिया दिनुहोस्