शुक्रबारदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेन
काठमाडौं । माघ २१, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित राङ्बुसा जंगलमा गत शुक्रबारदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
अरनिको राजमार्ग अन्तर्गत नेपाल र चीनको सिमानामा पर्ने कोदारी क्षेत्रको यो जंगलमा लागेको डढेलो नियन्त्रणमा लिनका लागि सोमबार दिनभर हेलिकप्टरबाट पानी खन्याइएको थियो ।
यद्यपि अहिले पनि आगो नियन्त्रणमा आइनसकेको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाले जानकारी दिए ।
उनका अनुसार शुक्रबारबाट सुरु भएको आगलागीबाट ३५ वर्ग किलोमिटर क्षेत्रमा जंगल जलिसकेको छ । अहिले माथि डाँडामा आगलागी भइरहेको उनले बताए ।
वडा नम्बर २ का अध्यक्ष कुमार श्रेष्ठका अनुसार बिहान आगो कम देखिए पनि अहिले घाम लागेपछि धुवाँको मुस्लो ठूलो हुँदै गएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय लगायतले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको उनले बताए । लिपिङ बजारमाथिको भिरबाट डढेलो सुरु भएको थियो ।
केहीदिन अघि काभ्रेपलाञ्चोकको बेथानचोक र खानीखोला गाउँपालिकामा लागेको डढेलो झण्डै एक सातापछि नियन्त्रणमा आएको थियो ।