एउटै डोरीले पासो लागेको अवस्थामा महिला र पुरुष भेटिए

सहयात्रा टिभी

काठमाडौँ । फागुन २०, मोरङको बक्राहा खोला किनारमा एउटै डोरीले पासो लागेको अवस्थामा महिला पुरुषको शव फेला परेको छ ।

पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोला किनारमा रहेको पिठारीको रुखको हाँगोमा सँगै झुन्डिएको अवस्थामा सोही ठाउँका करिब २४ वर्षीय अजय टुडू र झापाको गौरीगञ्ज गाउँपालिका–२ की जुबामुनी हस्ता मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख नारायण चिमरियाका अनुसार मृतक दुवै विवाहित हुन् ।

मृत फेला परेकी जुबामुनीका पति वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । उनको एक वर्षका छोरा पनि रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अजयका पनि दुई छोराछोरी छन् ।

प्रहरीका अनुसार अजयले जुबामुनीलाई आइतबार राति आफ्नै घरमा लिएर आएका थिए । भोलिपल्ट उनीहरू घरबाट हिँडेका थिए । आज रुखमा झुन्डिएको अवस्थामा उनीहरू मृत फेला परेका हुन् ।

प्रेम सम्बन्धले समस्या उत्पन्न हुन सक्ने देखेपछि दुवै जनाले सल्लाहमै आत्महत्या गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

 

प्रकाशित : 4 March, 2025

प्रतिक्रिया दिनुहोस्