सोलुखुम्बुमा भाइरल संक्रमणको प्रकोप उच्च

सहयात्रा टिभी

काठमाडौँ । चैत १ , हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल संक्रमणको प्रकोप उच्च भएको छ ।

पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ । जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा कठिनाइ सिर्जना भएको छ ।

जिल्ला अस्पताल फाप्लुमा दैनिक एक दर्जनभन्दा बढी बिरामी भाइरल संक्रमणका कारण उपचारका लागि पुगिरहेका छन् ।

१५ शय्या क्षमताको यस अस्पतालमा अहिले ५० जनाभन्दा बढी बिरामी भर्ना गरेर उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ । जसका कारण जनशक्ति व्यवस्थापनमा समेत चुनौती सृजना भएको अस्पताल निमित्त प्रमुख सानी शेर्पाले बताइन् ।

उनका अनुसार अस्पतालका सबै बेड भरिएका छन्, जसका कारण सुत्केरी कक्षका बेडसमेत अन्य बिरामीलाई उपचार दिन प्रयोग गरिएका छन् ।

‘अस्पतालमा भर्ना भएका अधिकतम बिरामी भाइरल संक्रमणकै हुन् । जनशक्ति कम छ, तर बिरामीको चाप अत्यधिक छ । अहिले हामीले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेका छौँ,’ शेर्पाले भनिन् ।

 

 

प्रकाशित : 14 March, 2025

प्रतिक्रिया दिनुहोस्