आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

सहयात्रा टिभी

काठमाडौं । बैशाख ६, सरकारले आज र भोलि देशभरका ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ ।

‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि गरी करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन लागेको हो । यसै कार्यक्रम अन्तर्गत एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइने छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको मन्त्रालयले जनाएको छ । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरिएको हो ।

जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालदेखि १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ । यस्तै २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ । प्रत्येक वर्ष कात्तिक र वैशाखमा बालबालिकालाई निःशुल्क भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै आएको छ ।

प्रकाशित : 19 April, 2025

प्रतिक्रिया दिनुहोस्