मानव बेचबिखन तथा ओसारपसार कसूरमा आलिया खातुन पक्राउ

काठमाडौं । वैशाख २९, पर्सा प्रहरीले वीरगंन्ज महानगरपालिका वडा-१६ नगवाकी २० वर्षीया आलिया खातुनलाई शनिबार पक्राउ गर्यो।जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनलाई मानव बेचबिखन तथा ओसारपसार कसूरमा पक्राउ गरेको थियो।
उनलाई सोही वडामा बस्ने १३ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारेर भारत पुर्याएर यौन व्यवसायमा लगाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साको एसपी गौतम मिश्रले जानकारी दिए।
उनलाई पक्राउ गरी प्रहरीले अुनसन्धान सुरू गरिसकेको छ। अनुसन्धानका लागि प्रहरीले अदालतबाट पाँच दिनको म्याद लिएको छ।।
प्रारम्भिक अनुसन्धानबाट खातुनले बालिकालाई वैशाख २१ गते लुगा किनिदिन्छु भनेर लिएर गएको खुलेको छ। आफूले पहिलेदेखि नै बालिकालाई निगरानी गरिरहेको र नजिक हुने प्रयास गरिरहेको खातुनले बताएकी छन्।
चिनजान भएका कारण बालिकाले उनीसँग जान नहिचकिचाएको पनि प्रहरीले बताएको छ। सुरूमा खातुनले ती बालिकालाई आफ्नो घरमा लिएर गएकी थिइन्।
तर त्यहाँ एक रात पनि नराखी भारतको बिहार रक्सौलको एउटा होटलमा पुर्याएको बताएकी छन्। त्यहाँ पुर्याएर चार दिनसम्म एकै होटेलमा राखेर यौन व्यवसायमा लगाएको खातुनले स्वीकार गरेकी छन्।
बालिकाको परिवारले भने उनी हराएको प्रहरीमा निवेदन दिएका थिए। सोही आधारमा अनुसन्धान गर्दै जाँदा बालिकालाई २७ गते राति २ बजे बिहारबाट उद्धार गरेको एसपी मिश्रले जानकारी दिए।
बालिकालाई उद्धार गरेपछि खातुनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले बालिकाहरूलाई यस अघि पनि प्रलोभनमा पारेर बेचेको बताएकी छन्।
त्यसैले उनीविरूद्ध मानवबेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान थालिएको छ। खातुनविरूद्ध एक वर्षअघि अभद्र मुद्दामा कानुनी कारबाही समेत रेकर्डमा भेटिएको एसपी मिश्रले बताए।