तुलसीपुरमा कोठाभित्र अचेत भेटिएका दुई दिदी बहिनीको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौं । जेठ ९, दाङको तुलसीपुरमा कोठामा अचेत अवस्थामा फेला परेका दुई किशोरीको उपचारका क्रममा ज्यान गएको छ ।

सल्यानको बागचौर नगरपालिका–११ बाँफुखोला घर भइ दाङको तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा कोठा भाडामा बस्दै आएका १८ वर्षीया दिपु परियार र १७ वर्षीया दिपा परियार गएराति अचेत अवस्थामा फेला परेपछि प्रहरीले उपचारका लागि तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल पुर्‍याएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि दुवै जनालाई घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

घोराहीमा दिपु परियारको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दिपाको घोराहीमा पनि उपचार हुन नसकेपछि बिहान बाँकेको नेपालगञ्ज पुर्‍याइएको थियो ।

दिपाको पनि उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिनुभयो ।

दिपा र दिपु नाताले दिदी बहिनी हुन् । दिपा दिपुको मामाको छोरी हुन । मृतक दुवै जना कक्षा ११ मा अध्ययनरत थिए । दिपु हिजो दिउँसो मात्रै घोराहीबाट दिपाको कोठामा आएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 23 May, 2025

प्रतिक्रिया दिनुहोस्