रवि लामिछानेलाई भैरहवा कारागारबाट तत्काल काठमाडौं सारियोस् : राजेन्द्र लिङ्देन

सहयात्रा टिभी

काठमाडौं । साउन २८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भैरहवा कारागारको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई तत्काल काठमाडौं स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार भैरहवास्थित जिल्ला कारागारमा पुगेर लामिछानेसँग भेट गरेपछि अध्यक्ष लिङ्देनले उक्त कारागार सुरक्षा र सुविधा दुवै दृष्टिकोणले अत्यन्तै अनुपयुक्त रहेको बताए। उनले भने, “देशको एउटा प्रमुख पार्टीको सभापतिलाई थुनामा राख्दा न्यूनतम मानवीय सुविधाबाट पनि वञ्चित गरिएको देख्दा दुःख लागेको छ।”

गत चैत २५ देखि थुनामा रहेका लामिछानेले कारागार सरुवाका लागि दिएको निवेदनमाथि अदालतले स्थानान्तरण गर्न आदेश दिइसकेको छ। तर, गृह प्रशासनले काठमाडौंमा पनि उनीविरुद्ध मुद्दा विचाराधीन रहेको जस्ता कारण देखाउँदै सरुवा प्रक्रिया रोकेको छ।

कारागार प्रशासनका अनुसार, १९५० मा निर्मित रुपन्देही कारागारको क्षमताभन्दा झण्डै तीन गुणा बढी अर्थात् ६२४ जना कैदीबन्दी र थुनुवा राखिएको छ। यद्यपि, लामिछानेलाई भने छुट्टै व्यवस्थापनमा राखिएको जनाइएको छ।

प्रकाशित : 13 August, 2025

प्रतिक्रिया दिनुहोस्