चक्रे मिलनलाई जिल्ला अदालत भक्तपुरले धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । साउन ३०, गुन्डा नाइकेको रूपमा चिनिँदै आएका चक्रे मिलन (मिलन गुरुङ) लाई जिल्ला अदालत भक्तपुरले पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश जारी गरेको हो ।बिहीबार मुद्दाको सुनुवाइ नभ्याउने भएपछि पेशी तोकिएको थिएन ।
आज शुक्रबार भने न्यायाधीश न्यौपानेको इजलासले चक्रेको मुद्दामा बयान र थुनछेक सकेर आदेश जारी गरेको हो ।
चक्रेविरुद्ध बिहीबार ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको थियो । एक वर्षअघिको एक ज्यान मार्ने उद्योगको कसुरको मुद्दामा चक्रेविरुद्ध जाहेरी परेको थियो ।
आफ्नो भतिज मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए ।
त्यतिबेला रायमाझीको दुवै कोखमा खुकुरी प्रहारी गरी घाइते बनाइएको बताइएको थियो । सोही विषयमा अहिले चक्रेमाथि मुद्दा दर्ता भएको हो ।
चक्रे बुधरबार मात्रै जिल्ला प्रहरी परिसरको हिरासतबाट छुटेका थिए । अभद्र व्यवहारको कसुरमा उनी ३० हजार धरौटी तिरेर रिहा भएका थिए । न्यायाधीश खिमानन्द भुसालको आदेशअनुसार उनी धरौटी बुझाएर रिहा भएका थिए । भक्तपुरमा अर्को मुद्दा रहेकाले उनलाई त्यसपछि भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।