बागमतीमा कांग्रेसका पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिए

काठमाडौं । साउन ३०, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज शुक्रबार पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका छन् ।
२० साउनमा आफूसहित ८ मन्त्री नियुक्त गरेका बानियाँले दोस्रो चरणमा आफ्नै दल कांग्रेसका पाँच जनालाई मन्त्री बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
मुख्यमन्त्री बानियाँले आज सामाजिक विकास मन्त्रालयमा काभ्रेका कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका प्रभात तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी बिनु रायमाझी पौंडेललाई नियुक्त गरेका हुन्।
एक वर्षअघि कांग्रेस र एमालेको संयुक्त सरकार गठन हुँदा लगाइएको मन्त्रालय भागबण्डाअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ६ वटा मन्त्रालय र एमालेले ६ वटा मन्त्रालय लिएको थियो।