रवि लामिछानेको स्वास्थ्य जाँच गर्न अस्पताल पठाइयो

सहयात्रा टिभी

काठमाडौं । भदौ २, रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । उनको स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत जाँच गर्नका लागि रगत अस्पताल पठाइएको छ ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार, सोमबार बिहान सभापति लामिछानेलाई भेट्न उपसभापति डोलप्रसाद अर्याल नख्खु कारागार गएका थिए ।

सो क्रममा उनको छालामा पहेँलोजस्तो देखिएपछि स्वास्थ्य जाँचका लागि अनुरोध गरिएको र अहिले रगत परीक्षणका लागि अस्पताल पठाइएको हो ।

‘उहाँको स्वास्थ्यमा केही समस्या हो कि जस्तो लागेर जाँचका लागि उपसभापतिज्यूले पनि भन्नुभयो,’ झाले भने, ‘अहिले रगत परीक्षणका लागि पठाइएको छ ।’ रगतको रिपोर्ट भने आइनसकेको झाले बताए ।

लामिछानेलाई दुई दिन अघिमात्रै भैरहवा कारागारबाट स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको थियो ।

उक्त दिन उनलाई करिब ४ सय कैदीबन्दी राखिएको ब्लकमा राखिएको थियो ।

 

प्रकाशित : 18 August, 2025

प्रतिक्रिया दिनुहोस्