प्रतिनिधि सभामा आज पनि गणपूरक संख्याको प्रश्न उठ्यो

काठमाडौं । भदौ ४, प्रतिनिधि सभामा आज पनि गणपूरक संख्याको प्रश्न उठेको छ ।
सभामुख देवराज घिमिरेले ‘बालबालिका सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्न लाग्दा गणपूरक संख्याको प्रश्न उठेको हो ।
माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले यस्तो प्रश्न गरेकी हुन् । त्यसपछि घण्टी बजाएर गणपूरक संख्या यकिन गरिएको छ ।
३ मिनेट घण्टी बजाएर गन्दा सभामा ८० जना रहेको थाहा लाग्यो । त्यसपछि बैठक अगाडि बढ्यो ।
प्रतिनिधि सभाको बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा एक चौथाइ सांसद उपस्थित हुनुपर्छ । यसअघि पनि प्रतिनिधि सभामा पटक–पटक गणपूरक संख्याको प्रश्न उठ्दै आएको छ ।