नेपालबाट ८० मेगावाट विद्युत खरिदका लागि भारत सरकारको सहमति

काठमाडौं । भदौ ६, भारत सरकारले नेपालका दुई जलविद्युत आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ । यससँगै नेपालबाट निर्यात हुने विद्युतको कुल परिमाण ११ सय मेगावाटभन्दा बढी भएको छ ।
यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०९०.९ मेगावाट पुगेको हो । नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत बंगलादेश निर्यात भइरहेको छ ।
यी सबै गरेर नेपालबाट कुल निर्यात हुनसक्ने परिमाण ११ सय ३० दशमलव ९ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
पछिल्लो पटक २६ साउनमा भारत सरकारले २०० मेगावाटका लागि अनुमति प्रदान गरेकोमा विहीवार थप ८० मेगावाटका लागि अनुमति प्रदान गरेको हो । यसअन्तर्गत ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती हाइड्रो पावरबाट उत्पादित विद्युत भारत निर्यात हुनेछ ।
यो अनुमति दुईपक्षीय सम्झौताअन्तर्गत मध्यम अवधिका लागि प्राप्त भएको र यो २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्म कायम रहने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।