नेपालसँग हवाई सम्पर्क बढाउन भियतनाम सकारात्मक

काठमाडौं । भदौ ८ , नेपालसँग हवाई सम्पर्क बढाउन र पर्यटन प्रवर्द्धनका लागी भियतनाम सकारात्मक भएको नेपाली अधिकारीले बताएका छन् ।
भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तामा भियतनामका अधिकारीहरुले हवाई सम्पर्क बढाउन र पर्यटन प्रवर्द्धनका लागि सकारात्मक सन्देश दिएका हुन् ।
आइतबार बिहान काठमाडौंको होटल याक एण्ड यतिमा सम्पन्न भेटवार्तामा व्यापार, लगानी, जलविद्युत, पर्यटन र सांस्कृतिक सहकार्यका विषयमा छलफल भएको बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
परराष्ट्र मन्त्रालयका सहसचिव एवम् दक्षिणपूर्वी एशिया प्रशान्त महाशाखाका प्रमुख प्रकाश अधिकारीले वार्तामा नेपाल–भियतनाम सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यका समग्र विषयमा छलफल भएको जानकारी दिए । उनका अनुसार दुवै पक्षले मित्रता, सद्भावना र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
भेटवार्तामा उच्च तहमा भ्रमण आदानप्रदान, सांस्कृतिक र धार्मिक सहकार्य, पर्यटन प्रवर्द्धनका लागि एयर कनेक्टिभिटी (हवाई सम्पर्क) बढाउनुका साथै व्यापार, लगानी र डिजिटल रूपान्तरणका क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल भएको अधिकारीले जानकारी दिए ।
नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन शनिवार काठमाडौं आएकी थिइन् । यो भियतनामबाट भएको नेपालको पहिलो उच्चस्तरीय भ्रमण हो ।
नेपाल आएलगत्तै सुआनले परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन् । सो अवसरमा राणाले भियतनामलाई भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडान सुरु गर्न प्रस्ताव गरेकी थिइन् ।
उपराष्ट्रपति सुआनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग र भोलि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी सोमबार स्वदेश फर्किने छिन् ।