जसपाले सरकारमा सहभागी दुई मन्त्रीहरू फेरबदल गर्ने

सहयात्रा टिभी

काठमाडौं । भदौ ८ , जनता समाजवादी पार्टीले सरकारमा सहभागी दुई मन्त्रीहरू फेरबदल गर्ने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पठाएको छ । अध्यक्ष अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको निर्णय भन्दै पत्र पठाएका थिए ।

तर, प्रधानमन्त्रीले त्यसअनुसार मन्त्रिपरिषद् पुनर्गठन भने गरेका छैनन् । मन्त्री नफेरेपछि जसपाले प्रधानमन्त्रीसँग ताकेता गर्न थालेको छ ।

जसपाले खानेपानीमन्त्री प्रदीप यादवको स्थानमा वीरेन्द्र महतो र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीको ठाउँमा रञ्जु झालाई पठाउनेगरी निर्णय गरेको हो । शनिबार बसेको पार्टीको उक्त निर्णयको औपचारिक प्रस्ताव प्रधानमन्त्रीलाई बुझाएको छ ।

बैठक स्रोतका अनुसार, शनिबार बैठकमा मन्त्रीहरूलाई राजीनामा दिन भनिएको छ । पार्टीभित्रको सहमति अनुसार गत वैशाखमै उनीहरूको एक वर्षे समयावधि सकिएको र त्यसपछि बजेटसम्म पर्खिने भन्दै उनीहरू पदमै रहेको विषयमा कुराकानी भएको थियो ।

बजेट पास भएपछि पनि उनीहरूले पद नछाडेकोले शनिबारको बैठकमा उनीहरूलाई पुनस् ताकेता गरिएको हो ।

मन्त्री बन्ने सूचीमा रहेका जसपा नेपालका नेता वीरेन्द्र महतोका अनुसार, सरकारमा सहभागी हुने बेलामै पार्टीमा एक वर्षमा मन्त्री फेरबदल गर्ने भन्ने सहमति थियो ।

त्यही सहमति अनुसार अहिले समयावधि पुगेकाले फेर्न लागिएको उनको भनाइ छ । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसकै पनि मन्त्रीहरू फेरबदलको चर्चा चलिरहेको छ ।

तर, मन्त्री फेर्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा अनिच्छुक देखिएसँग प्रधानमन्त्री ओलीले पुनर्गठन अघि बढाएका छैनन् ।

 

 

प्रकाशित : 24 August, 2025

प्रतिक्रिया दिनुहोस्