रास्वपाको उजुरी परेका स्थानका अधिवेशन स्थगित गर्न निर्देशन

सहयात्रा टिभी

काठमाडौं । जेठ १९ , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन आयोगले बागमती र मधेशका विभिन्न पालिकाको अधिवेशन स्थगित गर्न निर्देशन दिएको छ ।

बागमतीमासिन्धुपाल्चोक र मधेशमा सप्तरी, सिराहा, महोत्तरी र धनुषाका विभिन्न पालिकाको अधिवेशन रोक्न निर्देशन जारी गरिएको हो । बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र विवाद भएका अन्य स्थानको अधिवेशन रोक्न भनिएको छ ।

मधेशमा सप्तरी र सिरहा जिल्ला अन्तर्गतका सम्पूर्ण विवादित स्थानीय तह तथा वडाको अधिवेशन स्थगित गरिको छ । महोत्तरीमा जलेश्वर, एकडारा, मतिहानी, मनरा शिस्वा, पिपरा लगायतका पालिका र विवादित स्थानमा अधिवेशन रोक्न भनिएको छ ।

धनुषामा जनकपुर उपमहानगरपालिका सहित जनकनन्दिनी, गणेशमान चारनाथको अधिवेशन रोक्न निर्देशन दिइएको छ । सर्लाहीमा हरिपूर्वा नगरपालिकाको अधिवेशन प्रक्रिया स्थगित गर्न भनिएको छ ।

निर्वाचन आयोगको प्रमुख भुवन केसीले ती स्थानहरूमा विवाद हुनुको साथै उजुरीहरू पनि परेको हुँदा तत्कालका लागि रोकिएको जानकारी गराए ।

विवाद समाधान गरी पुनस् अधिवेशनको प्रक्रिया सुरु हुने उनले जानकारी गराए । १७ जेठसम्म प्रक्रिया सुरु गरेका बाहेक अन्य विवादित स्थानको सबै प्रक्रिया रोक्न निर्देशन दिइएको छ । केन्द्रीय निर्वाचन आयोगबाट अर्को आधिकारिक निर्देशन वा निर्णय नआएसम्मका वडा, पालिका तथा जिल्ला अधिवेशनका आगामी सम्पूर्ण निर्वाचन प्रक्रियाहरू स्थगन गर्न भनिएको छ ।

 

प्रकाशित : 2 June, 2026

प्रतिक्रिया दिनुहोस्