गुल्मीको रास्वपा सभापतिमा हरि श्रेष्ठ निर्वाचित भए

सहयात्रा टिभी

काठमाडौँ । जेठ २४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीको सभापतिमा हरि श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको पहिलो अधिवेशनबाट भएको निर्वाचनको मत परिणाम अनुसार, श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् ।

त्यस्तै, उपसभापतिमा प्रगति राना मगर तथा सचिवमा देवराज पाण्डे निर्वाचित भएका छन् । सह–सचिवमा भने सागर पाण्डे निर्विरोध निर्वाचित भएका थिए ।

कोषाध्यक्ष भने पछि मनोनयन गरिने जानकारी निवर्तमान जिल्ला सभापति भोजराज पाण्डेले दिएका छन् । जिल्ला समितिका सदस्यहरूमा माया जिसी, देबिका राना, प्रेमबहादुर सुनार, भागवत गिरी, दीक्षा भण्डारी, असिम भण्डारी र तुलसा पोख्रेल चयन भएका छन् ।

पदाधिकारीसँगै सदस्य पदका लागि पनि मतदान भएको थियो । पार्टीको विधानअनुसार जिल्ला समिति ११ सदस्यीय रहने व्यवस्था छ ।

यसमध्ये ९ जना निर्वाचनमार्फत चयन हुने तथा २ जना जिल्ला सभापतिले मनोनयन गर्ने प्रावधान छ । मनोनयन गरिएका सदस्यमध्येबाट एक जनालाई कोषाध्यक्ष बनाइने व्यवस्था छ ।

अधिवेशनमा प्रतिनिधिसभा सदस्यहरू सागर ढकाल, गोविन्द पन्थी, श्रद्धा कुँवरलगायत नेताहरूको सहभागिता रहेको थियो ।

रास्वपा गुल्मीले जिल्लाका १२ स्थानीय तहमध्ये ११ वटा पालिकामा अधिवेशन सम्पन्न गरेपछि जिल्ला अधिवेशन आयोजना गरेको हो ।

गुल्मीदरबार गाउँपालिकामा केही वडा अधिवेशन बाँकी रहेकाले त्यहाँको पालिका अधिवेशन हुन नसकेको र बाँकी प्रक्रिया पूरा भएपछि अधिवेशन सम्पन्न गरिने जनाइएको छ ।

पार्टीको विधानअनुसार गाउँपालिकामा ११ सदस्यीय तथा नगरपालिकामा १५ सदस्यीय पालिका समिति गठन गरिएको छ ।

 

प्रकाशित : 7 June, 2026

प्रतिक्रिया दिनुहोस्