विप्लव माओवादीविरुद्ध सरकारको कारबाही तीव्र

काठमाण्डौंं । भदौ–१२, सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीविरुद्ध कारबाही तीव्र पारेको छ । नेकपाले चन्दा आतंक फैलाएर धेरै रकम संकलन गरेको र सैन्य संरचना निर्माण गर्न थालेको सूचना आएपछि सरकारले कारबाही तीव्र पारेको हो ।
पछिल्लो समयमा विप्लवपछिका नेता तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सहित सैन्य फाँटका उपल्ला नेता र १० जना केन्द्रीय सदस्य पक्राउ परेका छन् । मन्त्रिपरिषद स्रोतले विप्लव माओवादीको सैन्य फाँटका ठूला नेता पक्राउ परेको पुष्टि गरेको छ । प्रहरीको उच्च स्रोतले प्रकाण्ड र सैन्यफाँटका ठूला नेता समातिएपछि विप्लवको शक्ति धेरै कमजोर भएको दाबी गरेको छ ।
विप्लव माओवादीले २५ देखि ३० करोड रुपैयाँ चन्दा उठाएको प्रहरी स्रोतको दाबी छ। ठूलो रकम जम्मा गरेपछि विप्लव माओवादी सैन्य तालिम र सैन्य संरचना निर्माणमा लागेको स्रोतले बताएको छ ।
प्रकाण्डसहित पक्राउ परेका मुख्य माओवादी नेताहरुलाई त्यत्तिकै नछाडिने पनि प्रहरी बताएको छ । प्रकाण्डलाई अदालतले बारम्बार छाड्न आदेश दिए पनि सरकारले अदालत परिसरबाटै तुरुन्त पक्राउ गर्दै आएको छ।