निःशुल्क स्वास्थ्य शिविरबाट २३७ जना लाभान्वित

सहयात्रा टिभी

रुकुम । असोज–२८, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २३७ जनाले स्वास्थ्य जाँच गराएका छन् । वडा नं १२ को जनकल्याण माध्यमिक विद्यालय सानाखोलामा शनिबार बसेको शिविरबाट १६० महिला र ७७ पुरुषले स्वास्थ्य जाँच गराएका हुन् ।

चौरजहारी नगरपालिकाको आयोजना र मानव विकास तथा सामुदायिक सेवा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य जाँच गरिएको हो । यहाँका १०, ११, १२, र १३ वडाका बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य सेवा दिइएको नगरपालिकाले जनाएको छ ।

शिविरमा छाला, नाक, कान, दाँत, ग्यास्ट्रिक, रुघाखोकी, पाठेघर खस्ने, तल्लो पेट दुख्ने समस्या भएका बिरामीको स्वास्थ्य जाँच गरिएको बताइएको छ । स्त्रीरोग विशेषज्ञ डा अजित जर्ज कुरुभिल्लाको टोलीले शिविरमा आएका बिरामीको स्वास्थ्य जाँच गरेको थियो । स्वास्थ्य जाँचसँगै केही बिरामीलाई निःशुल्क औषधिसमेत दिइयो ।

प्रकाशित : 14 October, 2018

प्रतिक्रिया दिनुहोस्