सुखी नेपाली र समृद्ध नेपालको अभियान सफल हुन्छ : नेकपा नेता नेपाल

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२१, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुखी नेपाली र समृद्ध नेपालको अभियान सफल हुने बताए ।

सूर्यविनायक नगरपालिका–५ स्थित सूर्यनगर टोल विकास समाजले आयोजना गरेको दीपावली, नेपाल संवत् ११३९ तथा छठको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै उनले नेपालको समृद्धिको शुरुवात भइसकेको बताएका हुन ।

नेता नेपालले शङ्करापुर नगरपालिका, कोटेश्वर, कागेश्वरी मनोहरालगायत काठमाण्डौँ उपत्यकाका सबै सडक आगामी दुई वर्षभित्रमा कालोपत्र हुने र उकालोमा ढलान हुने बताए ।

विगतमा निर्माण व्यवसायीको ढिलाइले निर्माण कार्यले गति लिन नसके पनि अब त्यो ढिलाइ नदोहरिने उनको भनाइ थियो । देशमा सबै जातजाति, भाषाभाषी, धर्म, सम्प्रदाय सबैलाई न्याय गर्दै सामाजिक न्यायसहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको बताउँदै उनले नेकपाको दुई तिहाइको सरकार निर्माण भएकाले देशको विकास र समृद्धि नरोकिने चर्चा गरे ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकासलाई रोक्न खोज्नेलाई परास्त गर्दै आगामी चार वर्षभित्र भक्तपुरको विकासले मुहार फेर्ने बताए ।
त्यस अवसरमा ३ नं प्रदेश सांसद शशीजङ्ग थापाले अब जनताले विकास नहोला कि भनेर चिन्ता गर्नुपर्ने बेलाको अन्त्य भएको बताए । रासस

प्रकाशित : 7 November, 2018

प्रतिक्रिया दिनुहोस्