प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको बैठक बस्दै

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–२५, नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषदको बैठक बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने बैठकले प्रधानन्यायधीशका लागि न्याय परिषद्ले पठाएको नाममा थप छलफल गर्दै नियुक्ति सिफारिस गर्नेछ ।

सिफारिस संसदीय सुनुवाई समितिबाट अनुमोदन हुनुपर्नेछ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले त्यस अघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद्को बैठक बोलाइएको हो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय समिति बैठकका कारण चाडै बाहिरिएपछि गत १७ गते बसेको परिषद् बैठक निष्कर्षमा पुग्न सकेको थिएन । न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई जना न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषदमा पठाइसकेको छ ।

संसदीय सुनुवाई समितिले जोशीलाई यसअघि नै प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेको थियो । प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको नाम अस्वीकृत भएपछि मिश्र प्रधानन्यायाधीश भएका हुन् ।

सुनुवाई समितिले पूर्ववत निर्णय कायम राखे राणा प्रधानन्यायाधीशका लागि एक्लो उम्मेदवार हुनुहुनेछ । प्रधानन्यायाधीश हुन सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित : 11 December, 2018

प्रतिक्रिया दिनुहोस्