प्रदर्शनी केन्द्र निर्माणबारे मन्त्री र सांसदसँग छलफल

सहयात्रा टिभी

भरतपुर । पुष–४, प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले चितवन प्रदर्शनी केन्द्रलाई प्रदेशको गौरवको योजनामा राख्नुपर्ने बताएका छन् ।

प्रदेशसभामा चितवनबाट प्रतिनिधित्व गर्ने मन्त्री र सांसदसँग चितवन उद्योग सङ्घले मङ्गलबार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री लामाले निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको प्रदर्शनी केन्द्रलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । “यसै वर्ष प्रदर्शनी केन्द्रका लागि बजेट विनियोजनको पहल गर्छौँ”, उनले भने, “सम्भव नभए आगामी बजेटमा प्राथमिकताका साथ समावेश गर्छौँ ।”

प्रदेश सरकारले कार्यविधि निर्माण अन्तिम चरणमा पु¥याएको भन्दै मन्त्री लामाले अब तीव्र रुपमा विकास निर्माणका काम हुने बताए । उनले प्रदर्शनी केन्द्र सञ्चालनको विधिलाई वैज्ञानिक बनाउनसमेत सुझाब दिए। प्रदर्शनी केन्द्र निर्माणमा बजेट अपुग भएपछि उद्योग सङ्घले प्रदेशबाट बजेट विनियोजनका लागि पहल गर्न छलफल गरिएको चितवन उद्योग सङ्घका अध्यक्ष भेषराज दुवाडीले बताए। नेपाल सरकारको रु १५ करोड र निजी क्षेत्रको रु १५ करोड जुटाएर प्रदर्शनी केन्द्र निर्माण थालिएको हो ।

अध्यक्ष दुवाडीले भने, “निर्माण सम्पन्न गर्दासम्म रु ४२ करोडभन्दा बढी खर्च हुने देखिन्छ”, प्रदेश नं ३ को महत्वपूर्ण योजनाका रूपमा रहेकाले प्रदेश सरकारबाट सहयोगको अपेक्षा गरेको दुवाडीले बताए । छलफलमा सहभागी प्रदेश सांसदले प्रदर्शनी केन्द्रले पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा टेवा पु¥याउने भएकाले प्रदेशका लागि गौरवको योजना भएको बताए । छलफलमा सांसद विजय सुवेदी, घनश्याम दाहाल, कृष्ण भुर्तेल, कञ्चन खनाल, पार्वती सिलवाल, रीना गुरुङलगायतले आफ्नो धारणा राखेका थिए । करीब दुई बिघा क्षेत्रफलमा निर्माण भइरहेको सो केन्द्रको जग्गा सरकारले २९ वर्षका लागि भाडामा उपलब्ध गराएको हो । आगामी असारभित्रै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

चौध सीसी क्यामरा मात्रै सञ्चालनमा

सुरक्षाको लागि भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा जडान गरिएका ३७ सीसी क्यामरामध्ये १४ मात्रै सञ्चालनमा छन् । अपराध अनुसन्धान र नियन्त्रणका लागि जडान गरिएका अधिकांश क्यामरा बिग्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहका अनुसार बिग्रेका क्यामरा मर्मत गरिँदैछ । उनले जिल्लामा ९९ सीसी क्यामरा जडान गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालय परिसरभित्र ३२ सीसी क्यामरा रहेकामा २६ मात्र सञ्चालनमा छन् । भरतपुर महानगरपालिकाको पुल्चोक, शहीदचोक, लायन्सचोक, क्याम्पस गेट, चौविसकोठीलगायतक क्षेत्रमा सीसी क्यामरा जडान गरिएको छ । टिकौली जङ्गलमा गोन्द्राङस्थित एउटा सीसी क्यामराले मात्रै काम गरेको शाहले बताए । अँध्यारोमा समेत दृश्य कैद गर्ने सीसी क्यामरा जडानको तयारी भइरहेको उनले जानकारी दिए । जिल्लामा सात स्थानीय तह छन् । “स्थानीय तहका प्रमुखसँगको छलफलमा राजमार्गको मुख्यमुख्य केन्द्रमा सीसी क्यामरा जडान गर्ने कुरा भइरहेको छ, उनले भने ।

निजी क्षेत्र, महानगरपालिका र जिल्ला प्रहरी कार्यालयको समन्वयमा जडान गरिएका सीसी क्यामरा मर्मतको खर्च महानगरले व्यहोर्ने गरी काम भइरहेको छ । अपराध अनुसन्धान र न्यूनीकरण, सवारीसाधनका चालकले दुर्घटना गराएर भाग्ने, चोरी डकैती, झैझगडा, कुटपिटलगायत अपराध अनुसन्धान गर्न सीसी क्यामराबाट सहयोग पुग्ने शाहले बताए । चोरी गर्न सीसी क्यामरा नै बिगार्ने गरेको घटना हुने गरेकाले निजी क्षेत्रले सीसी क्यामरा जडान गरेपछि प्रहरीलाई जानकारी गराउन उनले आग्रह गरे । रासस

प्रकाशित : 19 December, 2018

प्रतिक्रिया दिनुहोस्