प्रधानमन्त्री ओली आज पनि झापा र मोरङका कार्यक्रममा जाँदै
काठमाडौँ । फागुन १८, प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णयपछि देश दौडाहामा सक्रिय प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी हुन आज पनि झापा र मोरङ जाँदै छन् ।
यसअघि, आइतबार आफ्नो निर्वाचन क्षेत्र झापा-५ पुगेर विभिन्न पूर्वाधारको शिलान्यास तथा उद्घाटन गरेका प्रधानमन्त्री ओली सोमबार पोखरा पुगेका थिए ।
दुई दिनदेखि काठमाडौँ उपत्यका बाहिरका कार्यक्रममा व्यस्त हुनु भएका ओली आज पनि झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । बिहान ११ बजे झापाको भद्रपुर पुग्ने ओलीले मध्याह्न साढे १२ बजे अनारमनी नगरपालिकाले विपन्नहरूका लागि निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरणको कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
त्यसलगत्तै प्रधानमन्त्री ओली बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनमा सहभागी हुनेछन् ।
सो कार्यक्रम सकेर प्रधानमन्त्री ओली अपराह्न तीन बजे मोरङको उर्लाबारीमा निर्माण गर्न लागिएको एकीकृत सन्थाल बस्तीको शिलान्यासमा सहभागी हुने कार्यक्रम तय भएको छ ।
लामो समयदेखि सुकुम्बासी जीवन बिताइरहेको सन्थाल समुदायका लागि उर्लाबारीमा १३६ परीवारलाई लक्षित गरी एकीकृत बस्ती तयार गरिने भएको छ ।
उर्लाबारीको उक्त कार्यक्रमसकिएपछि प्रधानमन्त्री ओली आजै साँझ विराटनगर विमानस्थल हुँदै काठमाडौँ फर्कने छन् ।