कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन : शर्मा र नेपाली मन्त्री नियुक्त

सुर्खेत । जेठ ३, कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् ।
मुख्यमन्त्री शाहीले आइतबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्दै दुईजना मन्त्री थपेका छन् । सुर्खेतकी सीताकुमारी नेपाली र रुकुम पश्चिमबाट निर्वाचित गोपाल शर्मा मन्त्री नियुक्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्रीमा नेपाली र आर्थिक मामिला तथा योजनामन्त्रीमा शर्मा नियुक्त भएका छन् । उनीहरु दुवैजना माओवादी केन्द्रका सांसद हुन् ।
गत बुधवार मात्र मुख्यमन्त्रीले तीनजना मन्त्री नियुक्त गरेका थिए । तर सत्ता साझेदार कांग्रेसको असन्तुष्टिका कारण उनीहरुको शपथ रोकिएको थियो । कांग्रेसले दुईवटा मन्त्रालय मागेपछि माओवादीका मन्त्रीहरुको शपथ रोकिएको थियो ।
यसअघि मन्त्रीमा नियुक्त भए पनि शपथ रोकिएका माओवादीका सांसद विन्दमान विष्ट भने पछाडि हटेका छन् । कांगेसलाई दुई मन्त्रालय दिनुपर्ने भएपछि विष्ट पछाडि हटेको मुख्यमन्त्री निकट एक नेताले बताए ।