एमाले केन्द्रीय कमिटीको बैठक बस्दै, नेपाल पक्ष सहभागी नहुने

सहयात्रा टिभी

काठमाडौँ । असार १८, नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले गठन गरेको महाधिवेशन आयोजक कमिटीलाई भंग गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेपछि आज पहिलो बैठक बस्न लागेको हो ।

आजको बैठकमा पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई पनि बोलाइएको छ । यद्यपि खनाल र नेपाल पक्षले भने यो बैठकमा सहभागी नहुने जनाएको छ ।

बिहीबार बसेको खनाल – नेपाल पक्षको बैठकले शुक्रबार बोलाइएको बैठक अवैध भएको निष्कर्ष निकाल्दै सहभागी नहुने निर्णय गरेको थियो । पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको खनाल नेपाल पक्षले अहिलेकै स्थितिमा बैठकमा सहभागी हुन नसकिने जनाएको छ ।

खनाल–नेपाल पक्षले एमाले र माओवादी केन्द्रको एकता हुनुभन्दा अगाडिको केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै आए पनि ओलीले पूर्वमाओवादीका नेताहरूलाई समेटेर केन्द्रीय कमिटी बनाएकाले बैठकमा सहभागी नहुने उनीहरूको अडान छ।

महाधिवेशन आयोजक कमिटीबाट रुपान्तरण भएको हालको केन्द्रीय कमिटीमा पूर्वमाओवादीका २० जना सदस्य समेटिएका छन् ।

प्रकाशित : 2 July, 2021

प्रतिक्रिया दिनुहोस्