एमाले नेपाल पक्षको बैठक आज, अनधिकृत बैठकमा सहभागी नहुन संस्थापनको आग्रह

सहयात्रा टिभी

काठमाडौँ । साउन २१, नेकपा एमाले माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

बुधबार नै बस्ने भनिएको बैठक उपत्यका बाहिर रहेका कतिपय केन्द्रीय सदस्यहरु उपस्थित हुन नस्कने भएपछि आजलाई सारिएको हो ।

नेपाल समूहका केन्द्रीय सदस्य एवं सांसद मेटमणि चौधरीका अनुसार बैठक बिहान ११ बजे बुद्धनगरको एक पार्टी प्यालेसमा बस्नेछ । बैठक पार्टी एकता र सरकारमा सहभागी हुने नहुने भन्नेबारे निर्णय हुन सक्ने उनले जानकारी दिए ।

संसद् जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाल समूहलाई सरकारमा सहभागी हुन सत्तारुढ गठबन्धनले दबाब दिँदै आएको छ । नेपाल समूहलाई पर्खदा मन्त्रिपरिषद् विस्तार समेत हुन सकेको छैन ।

नेपाल समूहले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक बोलाएकोमा संस्थापन पक्षले भने आपत्ति जनाएको छ ।

संस्थापन पक्षले भने नेपाल समूहको बैठक अनधिकृत भएकाले सहभागी नहुन केन्द्रीय सदस्यहरूलाई आग्रह गरेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरी साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाएका छन् ।

प्रकाशित : 5 August, 2021

प्रतिक्रिया दिनुहोस्