लुम्बिनी प्रदेशका मन्त्री पाण्डेयले दिए राजीनामा

सहयात्रा टिभी

काठमाडौँ । साउन २७, जनता समाजवादी पार्टी (जसपा) बाट लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्री बन्नु भएका सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् ।

सिद्धान्तको राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त ठानेकाले र जसपाले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेकाले मन्त्री पदबाट राजीनामा दिएको पाण्डेयको भनाइ छ ।

गत वैशाख ६ गते अविश्वासको प्रस्तावनमा हस्ताक्षर गरेकै दिन नाटकीय रुपमा मन्त्री बनेका पाण्डेयसहित विजय यादव र कल्पना पाण्डेयलाई जसपाले सरकारबाट फिर्ता हुन नमानेपछि कारबाही गर्दै सांसद पदबाट हटाएको थियो । सो निर्णयविरुद्ध तीनै जना अदालत जानु भएको थियो । तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

रुपन्देही क्षेत्रनम्बर ३ (१) बाट विजयी पाण्डेयले मन्त्री पद त्यागे पनि विजय यादव र कल्पना पाण्डेय भने सरकारमा कायमै छन् ।

लुम्बिनी प्रदेशसभामा जसपाका ६ सांसद थिए । पार्टीले तीन जनालाई कारबाही गरेपछि अब तीन सांसद कायम छन् ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्दैछ ।

प्रकाशित : 11 August, 2021

प्रतिक्रिया दिनुहोस्