कांग्रेस केन्द्रीय समिति बैठक आज पनि
काठमाडौँ । साउन ३०, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा गत बिहीबारदेखि बैठक जारी छ ।
आज दिउँसो २ बजे बस्ने बैठकमा महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानविन समिति र समायोजन समितिको प्रतिवेदन पारित गर्ने केन्द्रीय सदस्य किरण गिरीले बताउनुभयो ।
गिरीका अनुसार आजको बैठकले १४ औं महाधिवेशनको नयाँ कार्यतालिका पारित गर्न सक्ने सम्भावना छ । तर, बैठकमा भने कार्यतालिका पेस भएको छैन । भदौ १६ देखि १९ गतेका लागि निर्धारित १४ औं महाधिवेशन सार्ने सम्बन्धमा काँग्रेसभित्र मतभेद देखिएको छ ।
बिहीबार र शुक्रबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूमा मत विभाजन देखिएको छ । संस्थापन पक्षबाट आउँदो मंसिरभित्र महाधिवेशन गर्ने गरी धारणा आइरहेको छ भने संस्थापन इत्तर समूहले असोजमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ ।
संस्थापन पक्षका नेताहरूले भदौ २३ मा वडा अधिवेशन गरेर महाधिवेशन मंसिरसम्म सम्पन्न गर्ने नयाँ कार्यतालिका ल्याउनुपर्ने राय राखेका छन् । तर, इत्तर पक्षले भने भदौ २३ देखि महाधिवेशन प्रक्रिया आरम्भ गरी दसैँअघि नै सम्पन्न गर्नेगरी नयाँ कार्यतालिका ल्याउन भनेको छ ।