नेपाल र ठाकुर नेतृत्वको दुवै दललाई निर्वाचन आयोगले दियो मान्यता

सहयात्रा टिभी

काठमाडौँ । भदौ १०, निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ ।

एमालेबाट अलग भएका नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबाट अलग भएका ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेका हुन् ।

आयोगको बुधबार बेलुकीको बैठकले माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता प्रदान गर्दै प्रमाणपत्र दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगका सचिव सुरेश अधिकारीले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेका हुन् । नेकपा(एमाले)बाट विद्रोह गरी अलग राजनीतिक दलका लागि ५६ केन्द्रीय सदस्य र ३० सांसदले आयोगमा सशरीर उपस्थित भई नयाँ दलका पक्षमा सनाखत गरे । राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ : ३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।

दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेश गरेकामा भास्कर काफ्ले र रवीन कोइराला मात्र आज सनाखत हुन सकेन । पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गरेका छन् ।

सङ्घीय संसद्का २९ जना सांसदले पनि नयाँ दलका पक्षमा सनाखत गर्नुभयो । सांसद सोमप्रसाद पाण्डेय, मायादेवी ज्ञवाली र शारदा भट्टको निवेदनका बेला दस्तखत नभए पनि हिजो उक्त दलका पक्षमा सनाखतका लागि आयोग पुगेका थिए । नेकपा (एमाले)बाट विभाजन भएका हुनाले उक्त दलको तत्कालीन कायम रहेको २०३ मध्ये दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य समर्थन आवश्यक पर्दथ्यो ।

यस्तै जसपाबाट विभाजित महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई पनि आयोगले दलको मान्यता प्रदान गरेको छ ।

लोकतान्त्रिक समाजवादीका १३ सांसद र १६ केन्द्रीय सदस्य सनाखत भएका छन् । लोकतान्त्रिक समाजवादीको केन्द्रीय सदस्यमा रेशम चौधरीको पनि हस्ताक्षर थियो तर उपस्थित नभएकै कारण सनाखत हुन नसकेको आयोगले जनाएको छ ।

प्रकाशित : 26 August, 2021

प्रतिक्रिया दिनुहोस्