जनप्रतिनिधिलाई दल रोज्न दिएको समय आज सकिँदै

सहयात्रा टिभी

काठमाडौँ । भदौ २२, निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समय आज सकिँदै छ ।

एमाले विभाजन भएर माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी गठन भएपछि आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई विभाजित दल रोज्न दिएको समयको आज अन्तिम दिन हो ।

निर्वाचन आयोगले गत भदौ ९ गते एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी र जसपा विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा ) लाई दल दर्ताको प्रमाणपत्र दिएको थियो ।

त्यसपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधनअनुसार दल विभाजन भएको २१ दिनको समय पुग्ने गरी २२ भदौसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय दिएको थियो ।

यसैबीच, निर्वाचन आयोगले देशैभरबाट संकलन भएको सनाखतको तथ्यांक आयोगमा आइपुग्न एक हप्तासम्म समय लाग्न सक्ने अनुमान गरेको छ । आयोगका सहप्रवक्ता कोमल धमलाले जिल्ला र प्रदेशमा आज नै त्यसबारे जानकारी आए पनि आयोगसम्म आइपुग्न समय लाग्ने बताए ।

सनाखतपछि कसैले नयाँ दल रोजेर पनि पुरानै दलमा फर्किन चाहेको खण्डमा आयोगले त्यसको अन्तिम निर्णय गर्ने धमलाको भनाइ छ । एकपटक दल रोजिसकेपछि पुन: त्यसलाई परिर्वतन नगराउने व्यवस्था रहे पनि कसैले निवेदन दिन चाहेको खण्डमा त्यसलाई आयोगमा नै पठाउन निर्देशन दिइएको धमलाले जानकारी दिए ।

प्रकाशित : 7 September, 2021

प्रतिक्रिया दिनुहोस्