भोलि एमसीसी संसदमा टेबल हुने

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ३, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा टेबल हुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर एमसीसी टेबल गर्ने तयारी गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले सभामुख सापकोटालाई टेलिफोन गरी एमसीसी टेबल गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री देउवाले भोलिको संसद बैठकमा एमसीसी टेबल हुने र त्यसको लागि आफूले सभामुख सापकोटासँग कुरा गरिसकेको जानकारी मंगलबारको कांग्रेस संसदीय दलमा गराएका छन् ।

प्रधानमन्त्री देउवाले आज बिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालाई बालुवाटार बोलाइ एमसीसी अनुमोदन गर्ने वातावरण बनाउन आग्रह गरेका थिए । कांग्रेसले राष्ट्रिय हितमा भएकाले एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ । बुधबारको बैठकमा पेस गर्नुपर्ने कांग्रेसको निर्णय छ ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा। शशांक कोइरालाले पनि बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुन सक्ने बताएका छन् ।

एमसीसी टेबुल गर्न राष्ट्रिय सहमतिको शर्त राख्दै आएका सभामुख सापकोटासमेत सोमबारको सर्वदलीय बैठकपछि सकारात्मक देखिएका छन् । एमसीसीमा दलहरु नै निर्णायक भन्दै सापकाटोले आफू अम्पायरको भूमिकामा रहेको भन्दै एमसीसी अगाडि बढाउने संकेत गरेका छन् ।

यद्यपि एमालेले सभामुखको कार्यशैलीमाथि प्रश्न उठाउँदै संसदमा अवरोध गर्दै आएको छ । एमसीसी टेबल हुन दिने कि नदिने भन्ने एमालेले स्पष्ट धारणा सार्वजनिक गरेको छैन । एमाले अध्यक्ष केपी ओलीले सोमबारको संसदीय दलको बैठकमा एमसीसीमा एमाले पर्ख र हेरको रणनीतिमा रहेको बताएका थिए ।

प्रकाशित : 15 February, 2022

प्रतिक्रिया दिनुहोस्