स्थानीय निर्वाचनमा एमालेको बहुमत आउँछःपोखरेल
काठमाडौं । चैत ७, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले आगामी स्थानीय तहको निर्वाचनमा एमालेको बहुमत आउने दाबी गरेका छन् ।
आइतबार सुर्खेतको वीरेन्द्रनगरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले यस्तो दाबी गरेका हुन् ।
उनले स्थानीय तह निर्वाचनमा बहुमत ल्याउनुपर्ने भन्दै कार्यकर्ताहरुलाई केपी ओली नेतृत्वको सरकारले गरेका राम्रा कामको बारेमा प्रचार गर्न निर्देशन पनि दिए ।
अघिल्लो पटक गरेका कतिपय बाचा पूरा गर्न नसकिएपनि पूरा गरेका राम्रा काम प्रचार गरेर जनताको मन जित्न पोखरेलले आग्रह गरे । एमसीसीको सन्दर्भ कोट्याउदै पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालको नक्कली राष्ट्रवाद प्रष्ट भएको उल्लेख गरे ।
एमसीसी सम्झौतालाई नेपाल र नेपालीको अधिकतम हित हुनेगरी कार्यान्वयन गर्नुपर्ने एमालेको धारणा रहेको पनि उनले बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रमुख सचेतकबाट राजीनामा दिएका ठम्मर विष्ट नेकपा एमालेमा प्रवेश गरेका थिए ।
विष्टलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी प्रवेश गराए । बिष्टसंगै दुई सय बढी माओवादी कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्र गुर्भाकोट नगर कमिटी अध्यक्ष मोती बिकले पूर्ण कमिटीलाई एमालेमा समाहित गरेको बताए ।