केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाँदरमुढे घटनाको १७ वर्ष पूरा, चुनाव जितेपछि प्रचण्डले वाचा भुलेको पीडितको गुनासो

सहयात्रा टिभी

चितवन । जेठ २३, चितवनको बाँदरमुढे घटना भएको आज १७ वर्ष पूरा भएको छ । माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ । १७ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि बल्झँदो छ ।

पीडितले अझैसम्म राज्य भएको महसुस गर्न पाएका छैनन् । चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आश्वासन मात्रै दिएको पीडितको गुनासो छ । माडी प्रचण्डको निर्वाचन क्षेत्रमा पर्छ ।

तत्कालीन विद्रोही माओवादीले २३ जेठ २०६२ मा माडीको बाँदरमुढे खोलामा थापेको एम्बुसमा परी ४२ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश माडीका स्थायी बासिन्दा थिए । नेपाली सेनाका तीन जवानको पनि पनि उक्त घटनामा मृत्यु भएको थियो ।

विद्रोही माओवादीका कमाण्डर स्वंयम प्रचण्ड दुईपटक प्रधानमन्त्री भइसक्दा पनि पीडितले राहत महसुस गर्न पाएका छैनन् । विस्फोटमा एकै घरका तीन जनासम्म परेका थिए ।

१५० यात्रु बोकेर माडीको बगईबाट भरतपुरतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबहाक बसमा माओवादीले बम विस्फोट गराउँदा घटनास्थलमा ३९ र उपचारका क्रममा तीन जनाको मृत्यु भएको थियो । सामान्य घाइते भइ घरमा उपचार गराएका घाइतेको रेकर्डबाहेक ७५ जना घाइते भएका थिए ।

मृतकहरुको सम्झनामा आज घटनास्थलमा स्मृति कार्यक्रमको आयोजना गरिएको छ । एड्भोकेसी फोरमको सहकार्यमा बाँदरमुढे घटना पीडित समितिले घटनास्थलमा स्मृति कार्यक्रमको आयोजना गरेको हो । दोषीलाई कारबाही गरी पीडितको अधिकार सुनिश्चित गर्न पीडितले माग गरेका छन् ।

घटना भएको १७ वर्ष भइसक्दा पनि पीडा घट्नेभन्दा बढ्दै गएकी पीडित यमकला चुवाई बताउँछिन् । २०७४ को प्रतिनिधिसभाको निर्वाचनका बेला पीडित परिवारका एक सदस्यलाई रोजगारीको सुनिश्चितता गर्ने र प्रति परिवार १० लाख रुपैयाँ उपलब्ध गराउने प्रचण्डको आश्वासन थियो । त्यसका लागि अमिक शेरचनको संयोजकत्वमा समिति बनाएपछि चुनाव जितेपछि प्रचण्डले सबै भुलेको उनी बताउँछिन् ।

२०७४ को निर्वाचनमा केही पीडितलाई राखेर एक घर एक रोजगार दिने र घाइतेलाई औषधि उपचार व्यवस्था गर्ने भनेर प्रचण्डले आश्वासन दिएका तर त्यो पूरा नभएको उनले बताए ।

प्रकाशित : 6 June, 2022

प्रतिक्रिया दिनुहोस्